काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) ई.प्रदीप अधिकारीले हवाई सुरक्षा सम्बन्धी भिडियो सन्देश जारी गरेका छन् । लगातार जहाज दुर्घटनामा पर्ने र यसको दोष नियामक उड्डयन प्राधिकरण र आफूमाथि नै लाग्न थालेपछि डीजी अधिकारीले बुधवार बेलुका एउटा भिडियो सन्देश जारी गर्दै संवेदनशील बन्न जहाज चालक तथा क्याप्टेनहरूलाई सचेत गराएका हुन् ।
तथापि, दृष्टिगत उडानमा रहेका पाइलटहरूलाई नियम सम्झाउँदै डीजी अधिकारीले थप भनेका छन्, ‘दृष्टिगत उडान नियममा रहेर उडिरहेका वायुयानहरु बादल तथा खराब मौसमभित्र छिर्न कानुनले नै निषेध गरेको छ । यसको प्रभावकारी रूपमा कार्यान्वयन तपाईँहरूको प्रतिबद्धता विना सम्भव देखिँदैन । यस्तो परिस्थितिमा खराब मौसम वा बादलभित्र प्रवेश नगरिदिनुहोला’ उनले भनेका छन् ।
सोही भिडियो सन्देशमा उनले भनेका छन्, ‘सरकारद्वारा गठित जति पनि जहाज दुर्घटना छानबिन आयोगको प्रतिवेदनले मानवीय त्रुटि नै दुर्घटनाको मूल कारण रहेको औँल्याएको छ । तसर्थ हामी सबैको आपसी सहयोग सद्भाव र पहल कदमीमा सुरक्षित उडान संस्कृतिको विकास गरौँ, नेपाली आकाशलाई सुरक्षित राखौँ ।’


















