काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धित ऐनहरु संशोधन हुने जनाएका छन्।
मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हाल संसद् अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेन अगावै ऐनहरुलाई मूर्त रुप दिने काम हुने विश्वास व्यक्त गरे।
मन्त्री पाण्डेले भने, ‘हिजो मात्रै संसद्को अधिवेशन अन्त्य भएको छ। हामीले पर्यटन, संस्कृति, हवाई उड्यन लगायतका नीतिहरु परिमार्जन गर्न खोजिरहेका छौं। संसद्को हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रुप दिनेछौं।’
मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आह्वान गरे। उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको उनको भनाइ थियो।
मन्त्री पाण्डेले मुलुकको स्थायित्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको दावी गर्दै भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु सहजता पक्कै पनि होइन। यो स्वभाविक पनि छैन। तर स्थिर सरकार चलाउनका लागि एक ठाउँमा उभिएका हौं।’