काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी सरकार अघि बढिरहेको जनाएकी छन्।
आइतबार राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको पनि जानकारी दिइन्।
उनले भनिन्, ‘हामी विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेका छौँ। यसैगरी शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई आजको दिनमा हार्दिक अनुरोध गर्न चाहन्छौँ।’
उनले हाल देशमा आधारभुत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरू सञ्चालनमा रहेको र संस्थाहरूलाई व्यवस्थित गर्दै जानुपर्ने आजको जिम्मेवारी रहेको जनाइन्।
हाल देशभर सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षककाे सङ्ख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ रहेकाे छ। सामुदायिक विद्यालयमा हालसम्म १ लाख ६८ हजार ८३७ कक्षाकोठा रहेका छन्।
मन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारूप तयार गरी शुरु गर्ने योजना बनाएको बताइन्। उनले माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक रहेको उल्लेख गरिन्।
मन्त्री भट्टराईले विद्यालय पाठ्यक्रम सुधारको योजना बनाइरहेको जानकारी दिइन्।