मानबतामाथिको भयावह खतरा परमाणु शस्त्रास्त्रका माझ बिश्वका मानिस

7
लोकनारायण सुबेद
आज चल्ने र चलिरहेका युद्धहरुको अर्थ हुन्छ सैन्य औद्योगिक परिसहरुका लागि अत्यन्तै ठुलो मुनाफा । त्यसको अतिरिक्त के पनि भनिन थालेको छ भने बर्तमान युद्धजन्य यस्ता सैनिक गतिबिधिका कारण पृथ्बीको पर्यावरणमा पुग्ने कूल नोक्सानीमा बिश्वमा ६.४ प्रतिशत योगदान युद्ध र हात हतियारको रहेको छ ।
बिश्वमा आज परमाणु हतियारको उपस्थिति र त्यसको बिस्तार बिकास प्रलयकारी खतरा भन्ने कुरा त दोश्रो बिश्वयुद्धको अन्त्य र जापानले सबै युद्ध मोर्चाबाट पराजित भएर फर्केपछि  अनाबश्यकरुपमा अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेर हजारौ. निर्दोष जापानीहरुको निर्मम हत्या गरेबाट नै प्रष्ट भएको हो । त्यो कुरालाई २००३ मा उल्लेख गर्दै दक्षिण अफ्रिकालाई रंगभेद,नश्लभेद र उपनिवेशबाट मुक्त गर्ने महान नेता नेल्सन मण्डेलाल हिरोशिमा र नागाशाकी माथि अमेरिकाले खसालेको आणबिक बमका बिषयमा बोल्ने क्रममा  भनेका यिए – बिश्वमा मानबतामाथि जघन्य अपराध गर्ने र मानिसलाई मानिस नगन्ने  कुनै देश छ भने त्यो अमेरिका हो जसले बिश्वमा मानबतामाथि अबर्णनीय अत्याचार गरेको छ । अमेरिकी शासकहरुलाई मानिस र मानबताको कुनै अर्थ छैन । तिनले युद्धका सबै मोर्चाबाट पराजित भएर फर्किसकेको जापानमाथि १९४५ अगस्ट ६ र ९ मा आणबिक बम खसालेर हजारौ हजार निर्दोष जापानीहरुको हत्या गरेको थियो । त्यसको असर आजसम्म पनि उनीहरुले ब्यहोरिई रहनु परेको छ । तर त्यो बम जापानका बिरुद्ध मात्र खसालिएको थिएन । त्यो त समाजबादी सोभियत संघका बिरुद्ध थियो र हामी यत्तिका शक्तिाशाली छौ. हाम्रो बिरुद्ध लाग्यौ भने यस्तै(जापानको जस्तै) हबिगत हुन्छ भनेर उनीहरुले सोभियत संघलाई धम्काएका थिए । मानिसलाई मानिस नठान्ने अमेरिका कति दम्भी छ भन्ने कुरा यसरी प्रष्ट छ । आज पनि बिश्वको प्रहरी सरदार अमेरिकाले आफैलाई ठान्छ । यो कुरा रंगभेद बिरुद्ध उपनिवेशबाद बिरुद्ध लड्दा २७ बर्षसम्म अबिछिन्न जेलमा थुनिएका साहासी र निडर योद्धा नेता मण्डेलाले त्यत्तिकै तीतो पोख्न भनेका थिएनन् । एउटा गम्भीर बिश्व बास्तबिकता औंल्याएका थिए ।
त्यसैले बम खसाल्ने कुरा त आज कल्पनैसम्म पनि गरिनु हुन्न । किनभने परमाणु हतियारहरु दोश्रो बिश्व युद्ध समाप्ति यता यति धेरै थुप्रिसकेको छन् कि तिनको उपस्थिति नै अत्यन्तै भयावह र अकल्पनीय खतराको कुरा बनेको छ । तिनको उपयोग नगरिहाले पनि तिनको राखनधरन,सुरक्षा आदिमा अत्यन्तै  ठूलो खर्च छ । त्यसको प्रभाव बिश्वको स्वास्थ्य, शिक्षा र अन्य सामाजिक आधारभूत आवश्यकतामा गरिने लगानीमाथि अबश्य नै पर्दछ र परिरहेको छ ।
भनिन्छ पहिले जापोरिज्जिया र अहिले कुस्र्कमा स्थित परमाणु ऊर्जा संयन्त्रमा ठूलो खतरा छ र त्यो अत्याधिक चिन्ताको बिषय बनेको छ । संयुक्त राष्ट्र परमाणु ऊर्जा अनुगमन गर्ने संस्था अर्थात अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का प्रमुख राफेल ग्राँसीले गएको २७ अगस्टका दिन रुसको कुस्र्क परमाणु संयन्त्रको भ्रमणको क्रममा चेतावनी दिदै भनेका पनि थिए कि स्थिति बहुतै गम्भीर छ  । किनभने यो संयन्त्र युद्ध क्षेत्रबाट केवल ५० किलोमिटर मात्र टाढा छ ।
अनि यो संस्था आईएईएले परमाणु ऊर्जा संयन्त्रको खतराका बारेमा धेरै चेतावनीहरु जारि गरिसकेको छ । खाशगरी रुसी सेनाद्वारा दक्षिणी यूक्रेनको अपराज्जियामा स्थित परमाणु ऊर्जा संयन्त्रमाथि कब्जा गरिसकेपछि उनले चेतावनी दिदै भनेका थिए कि परमाणु संयन्त्रमाथि कहिल्यै पनि आक्रमण गरिनु हुन्न । बास्तवमा यो एउटा अत्यन्तै गम्भीर चेतावनी हो जुन आईएईएका प्रमुखको मुखबाट निस्केको छ । थ्रि माइल आइल्याण्ड, चेर्नोबिल र फुकुशिमामा घटेका र परमाणु ऊर्जा संयन्त्रमा उत्पन्न भएका भयावह सम्झनाले मात्रै पनि हामीलाई ती क्षेत्र र तिनका वरिपरीका क्षेत्रहरुको मानब जीवन र आधारभूत संरचनामा जुन ठूलो नोक्सान भयो र त्यसले गम्भीर पाठ पढाएको हो । तिनको बिषालु बिकिरण फैलिएर दीर्घकालीन असर अहिलेसम्म पारिरहेको कुरा पनि कम खतरनाक छैन । यसकारण बिश्व समुदाय यतिबेला केवल चिन्तित मात्रै छैन अत्यन्तै भयभीत पनि छ ।  यदि यूक्रेन युद्ध अझै बढ्दै र फैलिदै जाने हो भने परमाणु दुर्घटनाको कुरालाई अबश्यंभावी छ भन्ने कुरा अस्वीकार गर्न सकिने स्थिति पनि छैन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले समेत चेतावनी दिइसकेका छन् कि यदि उनको देशमाथिको सम्प्रभूता या त्यस क्षेत्रमा कुनै खरता बढ्यो भने उनको देशले परमाणु हतियार उपयोग गर्न पनि पछि पर्ने छैन । उनले यो बक्तब्य ५ जून २०२४ मा दिएका हुन् ।रुसले २०२२ मा यूक्रेनमाथि ठूलोरुपमा आक्रमण गरेपछि पहिलो पटक अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरु र ती संस्थाका सम्पादकहरुसँग उनले ब्यक्तिगत भेटघाटको बेला यसो भनेका हुन् ।
यो रुसको यूक्रेन क्षेत्रका अतिरिक्त पेलेस्टिनको गाजा क्षेत्रमा निर्दोष महिला तथा बालबच्चाहरुमाथि चलिरहेको घोर अमानबीय इजरायली आक्रमण मुटुनै कम्पयमान गराउने खालको छ । गाजाका नागरिकहरुलाई पशुहरुको  बथान धपाए जस्तै गरी जता ततै लखेटिएको बिश्वले देखिरहेको छ । इजरायली फौजले तिनलाई ‘सुरक्षित स्थानमा जाउ या मृत्युको सामना गर भन्ने अत्यन्तै क्रुर र अमानबीय आदेश दिएको छ । तर इजरायली फौजले भन्ने गरेका तथाकथित सुरक्षित स्थानहरुमा पनि लगातार हमला गरिरहेको छ र बाल बच्चा र महिलाहरुलाई तिनको कुनै दोषबिनै दिनदिनै मारिने गरेको छ । ७ अक्टोबरदेखियता बिश्व स्वास्थ्य संगठनले स्वास्थ्य सुबिधाहरुमा मात्र कूल ८९० पटक हमला भएको तथ्य दर्शाइ सकेको छ । ती मध्ये गाजा क्षेत्रमा ४४३ र पश्चिमी किनारामा ४४७ मात्र पटक हमला गरिएको जनाइएको छ ।
अस्पतालहरुलाई आमरुपमा युद्धका समयमा सरक्षित स्थान मान्ने गरिन्छ । किनकि जेनेभा कन्भेसन अनुसार युद्धरत पक्षबाट स्वास्थ्य सेवामा हमला गर्न नपाईने प्रबाधान राखिएको र त्यसो गर्नु नहुने अपेक्षा गरिएको छ । त्यो संबिदामा भनिएको छ कि ‘घाइतेहरु र बिमारीहरु, अशक्त तथा सुत्केरी महिलाहरुको रेखदेख गर्नका लागि संगठित नागरिक अस्पतालहरु कुनै पनि हालत या परिस्थितिमा हमलाको लक्ष हुन सक्तैनन् । यसका अतिरिक्त संघर्षमा शामेल पक्षहरुद्वारा हरेक समयमा तिनको सम्मान र संरक्षण गरिनु पर्दछ । त्यसले गर्दा यस्तो असुरक्षाका बेला नागरिकहरु अस्पतालहरुमा जाने प्रयत्न गर्ने गर्दछन् ।
यतिबेला गाजामा गम्भीर र भीषण संकट छ । किनभने गाजााबासीहरुसम्म मानबीय सहायता पुर्याउन नदिने अनेकौं अडचनहरु छन । त्यसैले बिश्व स्वास्थ्य संगठन र यूनिसेफले पनि त्यहाँ बिमारीहरु बृद्धि भएको बारेमा गम्भीर चिन्ता ब्यक्त गर्दै चेतावनी पनि दिएको छ । त्यहाँका निवासीहरुमा पोलियो भाइरस फैलिएको पत्ता लागेपछि चिकित्सक समुदाय नै पनि नराम्रोसँग तरंगित हुन पुगेको छ । अहिलेको त्यहाँ भएको ४० हजारभन्दा बढी मानिसको मृत्यु बास्तवमा १९४८ भएको ‘नकबा’ भए जस्तै त्यसैको पुनराबृत्ति जस्तो मानिएको छ । त्यो नकबाका बेलामा पनि दर्जनौं नागरिकहरुको नरसंहार भएको र त्यसमा पेलेस्टिनी र अरबीहरुलाई तारो बनाइएको थियो । त्यतिबेला ५०० भन्दा बढी अरब–बहुल शहर, गाउँ र अरु शहरी इलाकाहरु उजाड बनाइएका थिए । ती मध्ये कयौं त पूरै नष्ट भएका थिए भने कतिपयमा यहूदीहरुले पुन बस्ती बसाएर आवाद गरेका तर त्यसलाई हिब्रु नाम राखेका थिए ।
यतिबेला त्यहाँ प्रत्येक दिन बित्दा युद्धको क्षेत्र लेबनान तर्फ बढिरहेको छ । त्यसलाई अर्को एउटा गम्भीर खतरा मानिदैछ । किनभने ईरान र इजरायलका बीचको तनाब अझ बढिरहेको छ । इजरायल पहिलादेखि नै एउटा परमाणु शस्त्रास्त्र बनाउने वा राख्ने देश मानिन्छ अनि ईरानसँग पनि परमाणु शक्ति रहेको छ । इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको मन्त्रिमण्डलका एकजना अति दक्षिणपन्थी सदस्य मानिएका अमिचाई एलियाहूले पनि परमाणु हतियार प्रयोग हुनसक्ने कुरालाई अस्वीकार गरेका छैनन् । जानकारहरु भन्दछन् उनको त्यो बयानबाजीलाई पूर्णरुपले बेवास्ता य अस्वीकार गर्न सकिन्न ।  यहाँ के पनि ध्यान दिनुपर्ने कुरा छ भने इजरायलले अन्तर्राष्ट्रिय न्यायालय(आईसीजे) र अन्तर्राष्ट्रिय अपराधिक न्यायालय(आईसीसी)को फैसलालाई भने पूर्णरुपले अस्वीकार गरिरहेको छ । स्पष्टै छ यस सम्बन्धमा इजरायललाई अमेरिकाको पूर्ण समर्थन छ ।
अनि यो पनि सर्बबिदित कुरा नै हो कि युद्धका बेला मानब कल्याणका मुद्दाहरुमा कसैले वास्ता गर्दैन । ती पछाडि पर्ने गर्दछन् ।कतिपय अफ्रिकी देशहरुमा अहिले अनिकाल, अभाव र अस्वस्थता आन्तरिक अन्तरकलह र मनोमालिन्यका कारण बन्न पुगेको उदाहरण छन् । तिनमा बुर्किनो फासो, केमरुन, मध्य अफ्रिकी गणराज्य(सीएआई), कंगो लोकतान्त्रिक गणराज्य,इथियोपिया, माली, मोजाम्बिक, नाइजेरिया, नाइजर, सेनेगल, सोमालिया,दक्षिण सुडान आदि शामेल रहेको बताइन्छ । संयुक्त राष्ट्रका मञ्चजहरुमा ती देशहरुको स्थिति सहज बनाउने बारे बहुतै कम मात्र चर्चा हुने गर्दछ ।
युद्धहरुकै अर्थ हुन्छ कि सैन्य औद्योगिक परिसरहरका लागि धेरै ठुला मुनाफा कमाउनु । भनिन्छ अहिलेको बिश्वको सैन्य गतिबिधिका कारण पर्यावरणलाई हुने नोक्सानी कूल पर्यावरणीय स्खलनमा झण्डै ६.४ प्रतिशत छ । परमाणु हतियारहरुको उपस्थिति नै एउटा भयंकर ठूलो खतरा हो । ती हतियारहरको प्रयोग नभैहाले पनि तिनका राखनधरन, सुरक्षा, सँभारमा लाग्ने लागतले त्यसको प्रभाव स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक आवश्यकतामाथि गरिने लगानीमा पर्दछ । परमाणु हात हतियार समाप्त गर्नका लागि अन्तर्राष्ट्रिय अभियान(आईसीएएन)ले यी  हतियारहरुको उत्पादन गर्न र सुरक्षित राख्नका लागि बर्बाद गरिने सम्पत्तिको उपयोगितको तुलना गर्दै तथ्यांक प्रस्तुत गरेका छन् ।
त्यसका अनुसार बिश्वमा स्वास्थ्य हेरचाह प्रणाली आज मानिसको हेरचाह गर्न असमर्थ हुन पुगेका छन् । तर अर्कोतिर परमाणु हतियार सम्पन्न देशहरुले २०२३ मा आफ्ना परमाणु  शस्त्रागरलाई उन्नयन गर्नमा ९१.४ अर्ब अमेरिकी डलर बर्बाद गरेका छन् । त्यसको रिपोर्टले बताए अनुसार यो धनराशी संयुक्त राज्य अमेरिकामा ७१८,९३० जना नर्सहरुको बर्ष दिनको तलब पुग्दथ्यो । त्यसरी नै ठेउला, गलगाँड र रुबेला जस्ता रोगका बिरुद्ध ५,३४,३५,४०,७२,४३९ मानिसलाई खोप कोरोनाका बिरुद्ध २,२८,३०२७७७४ जना मानिसका लागि खोप तथा एक बर्षका लागि अकालबाट ५८,७०,६४,२८५ मानिसलाई बचाउन, ७,०८,८०,७४,०६,३०३ बोट बिरुवा लगाउन या १,३९,८१,०१,९६४ जना मानिसलाई एक बर्षका लागि स्वच्छ र सुरक्षित पानी प्रदान गर्न सम्भव हुने थियो ।
यी तथ्यहरु आश्चर्यचकित तुल्याउन खालका छन् । बिश्वका देशहरु र समाजहरुलाई यो खतरा महसुश हुनुपर्दछ । बिश्वमा स्थाई शान्ति तथा परमाणु  निशस्त्रीकरणका लागि प्रस्ताव पारित गर्ने तथा तिनलाई लागु गर्ने सयुक्त राष्ट्र सुरक्षा परिषद(यूएनएससी) को एउटा प्रमुख र प्राथमिक कत्र्तब्य नै हो । जी–२० जुन शक्तिशाली देशहरुको एउटा समूह हो, त्यसले पनि परमाणु निशस्त्रीकरणलाई सुनिश्चित गर्न जोडदाररुपमा लाग्नु पर्यो । अन्य असैन्य समाजले पनि परमाणु सम्पन्न देशहरुलाई परमाणु हतियारको निषेधमाथि बहुपक्षीय संयुक्त राष्ट्र सन्धि(टीपीएनडब्लु)मा सामेल हुनका लागि पहिलाभन्दा धेरै नै बढी सबलताकासाथ आवाज उठाउनु पर्यो भन्ने सुझाहरु प्नि आइरहेका छन् । नाफाका लागि  मानब र प्रकृति बिरोधी ती युद्धबादीहरुले भने कुनै टेरपुच्छर लगाउने सुरसार कतै देखिदैन । यो प्रबृत्ति बिश्व मानबता प्रकृति बिरुद्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here