काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने जनाएकी छन् ।
आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी रहेको जनाएकी हुन् । मन्त्री भट्टराईले शिक्षकलाई मासिक रुपमा पारिश्रमिक दिन पनि स्थानीय तहहरुलाई अनुरोध गरेकी छन् ।
देशमा सञ्चालित आधारभूत र माध्यमिक विद्यालय, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरुलाई व्यवस्थित गर्दै लैजाने पनि मन्त्री भट्टराईले जनाइन् ।
मन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारुप तयार गरी शुरु गर्ने योजना बनाएको पनि जानकारी दिइन् ।