काठमाडौं । दिपावलीकाे अवसर पारेर रिलिज हुने फिल्म ‘एक्टरस् टेक वन’ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ। यो टुर काठमाडौं उपत्यकाबाहिरका ६ मुख्य सहर इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा हुनेछ।
यो टुर कात्तिक १ देखि ७ गतेसम्म आयोजना हुनेछ। कात्तिक १ गते सुनसरीको इटहरीबाट सुरू हुने टुर २ गते चितवनको नारायणगढ, ३ गते रूपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगन्ज, ५ गते दाङको तुलसीपुर र अन्तिममा ७ गते कास्कीको पोखरामा हुनेछ।
चलचित्रका निर्माता थमनकुमार भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिने जानकारी दिएका छन्। लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुनेछ।
प्रत्येक कार्यक्रमहरूमा प्रदीप खड्का, अन्ना शर्मा, दिव्या रायमाझीलगायतले प्रस्तुति दिनेछन् भने ‘कमेडी दरबार’का चर्चित कमेडियनहरू सुन्दर खनाल, पवन खतिवडा ‘म्याकुरी०, हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्र शाकी ‘मिस पबी’ सिडी विजय अधिकारी, नम्रता सापकोटा, विक्की अग्रवाललगायतको सहभागिता रहनेछ।
यस फिल्ममा राजवल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय छ। राजन भुसाल निर्देशित फिल्मको कथा आकाश बराल र राजन भुसालले लेखेका हुन्।