टिकट बिक्रीमा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग

10

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलको टिकट बिक्रीमा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका छन्।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रतियोगिताको गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उल्लंघन भएकोले अनियमितता र भष्ट्राचार भएको दाबी गर्दै यस्तो माग राखेका हुन् ।

‘एन्फाको एक जिम्मेवार पदाधिकारी भएकोले चुप लागेर बस्नु आम खेलाडी र फुटबलप्रेमीप्रति अन्याय हुन्छ’, उनले भने, ‘त्यसैले राज्यको नियमनकारी निकाय र आम फुटबलप्रेमी दर्शकको ध्यान आकृष्ट गराउन यो पत्रकार सम्मेलनको आयोजना गरेको छु ।’ यसका कारण एन्फालाई १ करोड ५० लाखको क्षति पुगेको उनको दाबी छ ।

टिकट विक्री लागि टेण्डर आव्हान गर्दा तोकिएको समयसिमा भित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नु पर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नुमा बदनियत देखिएको तथा टेण्डर दिई सकेको अवस्थामा पुनः अवैधानिक तवरले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शी र स्वार्थ प्रेरित भएको उनको भनाइ छ ।

‘एन्फाले टिकट विक्री गर्दा अनलाइनमार्फत गर्नु पर्नेमा सो समेत गरिएको देखिएन, माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट प्रा.लि.लाई जुन आरोप लगाएर सम्झौता रद्द गर्ने निर्णय गरिएको छ, सोही काम एन्फाले दोहोर्याएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘फाइनलमा एन्फाले साधारण तर्फ १० हजार र भीआइपीतर्फ १००० टिकट विक्री गर्ने निर्णय गरेको थियो त्यो आफैंले उल्ल‌ंघन गरी भीआईपी तर्फ १०८२ र साधारण तर्फ १०,१३५ टिकट विक्री गरिएको छ । जुन तथ्य विक्री टिकट नम्बरबाट प्रमाणीत भएको देखिन्छ ।’

यीनै कारणहरु देखाउँदै खड्काले संस्थालाई क्षति पुग्ने गरी अवैध कार्यहरु गरी टेण्डर रद्द गरिनु, बढी टिकट बिक्री हुनु र एन्फामा टिकट विक्री बापतको रकम जम्मा भएको कुरामा पनि शंका रहनुले यो सबै निर्णयहरु गैरकानुनी, प्रक्रिया विपरित र अपारदर्शी भएको उनको आरोप छ । यसका लागि राज्यका निकायलाई छानविनका लागि आग्रह गर्दै अख्तियारमा पनि उजुरी परिसकेकोले गम्भिरतापूर्वक छानविनका लागि ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै महिला साफ च्याम्पियनशिपबाट उठेको सम्पूर्ण रकम देशका लागि रगत पसिना बनाउने महिला खेलाडीहरुलाई दामासाहीले दिनुपर्ने माग समेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here