आगलागीका घटना बढ्दाे  क्रममा

9

 

काठमाडौं । अहिले हिउँद लागेसँगै आगलागीका घटना बढ्दाे  क्रममा रहेकाे छ । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति समेत भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेकाे छ ।

प्राधिकरणका अनुसार  मंसिर १ देखि १० गतेसम्म  सबैभन्दा बढी आगलागीका भएकाेमा  मंसिर १ गते मात्रै ११ वटा विपद्का घटना भएकाे जनाए । तीमध्ये  आठ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एक जना र लेक लागेर एक जनाको मृत्यु भएको थियो ।

मंसिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ । त्यसदिन पनि विभिन्न आठ स्थानमा आगलागी भएका थिए । झापाको दमकमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै, मुस्ताङमा लेक लागेर एक जना र सुनसरीमा अर्नाले हानेर एक जना घाइते भएका थिए ।

प्राधिकरणका अनुसार मंसिर ३ गते विपदका दुई वटा घटनामात्रै भएका थिए । मोरङमा आगलागी र बैतडीको पाटनमा सुक्खा पहिरो खस्न गई महाकाली राजमार्ग अवरुद्ध भएको थियो । यसैगरी मंसिर ४ गते देशभर १६ मध्ये १३ वटा आगलागीका विपद्जन्य घटना भएका थिए ।

मंसिर ५ गते देशभर १२ वटा आगलागीका घटना भएको पाइएको छ । आगलागीमा ठूलोमात्रामा भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्राधिकरणको विवरणमा समावेश छ । त्यसदिन आगलागीमा परी एक जना घाइते भएका छन् ।

मंसिर ६ गते १० वटा घटना भएकामा नौ वटा आगलागीका मात्रै थिए । त्यसदिन आगलागी र जनावर आक्रमणमा परी दुई जना घाइते भएको प्राधिकरणको अभिलेख छ ।

मंसिर ७ गते देशभरका १४ स्थानमा आगलागी भएको थियो । आगलागीका कारण भौतिक सामग्री जलेर नष्ट भई दुई जना घाइते भएका प्राधिकरणले जनाएको छ । मंसिर ८ गते देशभर १० वटा विपद्जन्य घटनामध्ये नौ वटा आगलागीका थिए । लेक लागेर एक जना र आगलागीबाट एक जना घाइते भएका थिए ।

मंसिर ९ गते देशभर विपद्का १५ घटनामध्ये १४ वटा आगलागीका थिए । सो दिन नवलपरासी पूर्वमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै आगलागीमा परेर दुई जना घाइते भएका थिए ।

मंसिर १० गते विपद्जन्य १४ वटा घटना भएका छन् । त्यसमा १३ वटा आगलागीका घटना छन् । यसरी पछिल्ला १० दिनको विवरणमा सबैभन्दा बढी आगलागीका घटना छन् । आगलागीबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

प्राधिकरणले घर नजिक कुवा, इनार र पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गर्न, समुदायस्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो, कोदालो आदिको व्यवस्था गर्न, समयमा सम्बन्धित निकायमा सूचना गर्न आग्रह गरेको छ । यस्तै क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार पारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

सलाई, मट्टितेल, पेट्रोल, ग्यास सिलिण्डर जस्ता प्रज्वलनशील पदार्थहरू सुरक्षित राख्न, शरीरमा आगो लागेमा उक्त व्यक्तिलाई दौडन नदिइ भुइँमा सुताएर टाउकोदेखि पैतालासम्म कम्बल वा बोरा आदिले छोप्न पनि प्राधिकरणले सुझाव दिएको छ ।

आगलागी भएको ठाउँभित्र जानुपरेमा तालिम प्राप्त व्यक्तिमात्र जान, वनजंगलमा जथाभावी आगो नलगाउन, चुरोटका ठुटा जथाभावी नफाल्न र खाना पकाइसकेपछि आगो राम्ररी निभाउन प्राधिकरणले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here