धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तर्गत गाँजाको बोट नष्ट गर्ने अभियान अनुसार धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट फँडानी गरी नष्ट गरिएको छ ।
२०८० कात्तिक १३ गते खटिएको प्रहरी टोलीले धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका १, ३ र ६ बाट १३.५ रोपनी जग्गामा अवैध रुपमा लगाइएका र प्राकृतिक रुपमा उम्रेका ३४५० गाँजाका बोट नष्ट गरेका थिए ।
यसैगरी, २०८१ मा आएर इलाका प्रहरी कार्यालय छिन्ताङ्गले सहिदभूमि गाउँपालिका –३ का विभिन्न ठाउँहरुबाट करिबा ३५ रोपनी क्षेत्रफलबाट २७ हजार गाँजाको बोट नष्ट गरिएको थियो ।
यसैगरी, प्रहरी चौकी आँखिसल्लाले सहिदभूमि गाउँपालिका –६ बाट ५ रोपनी क्षेत्रफलबाट ११ सय गाँजाको बोट, प्रहरी चौकी त्रिवेणीले सहिदभूमि गाउँपालिका – १ मा ९ रोपनी क्षेत्रफलबाट पाँच हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी, इप्रका पाख्रिबासले पाख्रिवास नगरपालिका–३ र ४ मा गरी अन्दाजी ३ रोपनीबाट ५ सय गाँजाको बोट गरी जम्मा ५२ रोपनी जग्गामा अवैध रुपमा लगाइएका र प्राकृतिक रुपमा उम्रेका ३३ हजार ६ सय सय गाँजाका बोट फँडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटाको गाँजा यसरी नष्ट गरिरहँदा अन्य विदेशी मुलुकमा भने यहि गाँजाबाट तयारी पोशाक, औषधी लगायतमा गाँजा प्रयोग हुँदै आइरहेको पाइन्छ । सम्बन्धित सरोकारवालाहरुले यस तर्फ ध्यान दिएर गाँजालाई सहि सदुपयोग गर्न सके यसैबाट आर्थिक सम्मृद्धि सम्भवका साथै गाँजाबाटै धनकुटालाई मात्र नभएर नेपाललाई नै विश्वसामुु चिनाउन सकिने देखिन्छ ।