एजेन्सी । मिचेल स्टार्कले सानदार बलिङ गरेपछि अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारत १ सय ८० रनमा समेटिएको छ। शुक्रबारबाट एडिलेडमा सुरु भएको टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४४.१ ओभरमा अलआउट हुँदै १ सय ८० रन बनायो।
भारतका लागि नितिश कुमार रेड्डीले ४२ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक केएल राहुलले ३७ रन बनाउँदा शुभमन गिलले ३१ रन बनाए। त्यस्तै, ऋषभ पन्तले २१ रनको इनिङ्स खेल्दा रवीचन्द्रन आश्विन २२ रनमा आउट भए। कप्तान रोहित शर्मा ३ रनमा आउट हुँदा विराट कोहली ७ रनमा आउट भएका थिए।
भारतलाई सस्तैमा अलआउट गर्दा मिचेल स्टार्कले ४८ रन दिएर ६ विकेट लिए। त्यस्तै, प्याट कमिन्स र स्कट बोलान्डले २–२ विकेट लिएका थिए। यसअघि पहिलो टेस्ट भारतले २ सय ९५ रनले जित्दै सिरिजमा १–० को अग्रता बनाएको थियो।