एसियन कप छनोटमा नेपाल रहेको समूहमा भियतनाम, मलेसिया र लाओस

10

काठमाडौं ।  सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सार्वजनिक भएको छ । जसमा नेपाल समूह एफमा परेको छ ।

सोमबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ड्र अनुसार नेपाल रहेको समूहमा भियतनाम, मलेसिया र लाओस छन् ।

लाओससँग नेपालले विश्वकप र एसियन कप छनोटको प्रारम्भिक चरणमा समेत खेलेको थियो । जसमा घरेलु मैदानमा लाओससँग बराबरी खेलेको नेपालले अवे मैदानमा जित हात पार्दै अघिल्लो चरणमा पुगेको थियो । यसैगरी नेपालले भियतनामसँग अहिलेसम्म  दुई खेल खेलेकोमा दुवैमा पराजित भएको छ ।  मलेसियासँग भने ७ खेल खेल्दा ६ खेलमा पराजित भएको नेपालले १ खेल बराबरी गरेको छ ।

लाओससँग भने ५ खेल खेल्दा नेपाल अपराजित छ । ४ खेल नेपालले जितेको छ भने एक खेल बराबरी भएको छ । तेस्रो चरणमा २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४ टिम छन् । समूहका खेलहरु होम एण्ड अवेका आधारमा खेलाइनेछ र हरेक समूहको समूह विजेता एसियन कपमा छनोट हुनेछन् ।

यसअघि नै दोस्रो चरणको छनोटबाट १८ टिमले २०२७ को एसियन कपमा स्थान पक्का गरिसकेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here