काठमाडौं । वायु प्रदूषण मापनका लागि काठमाडौं महानगरपालिकाले १८ ठाउँमा यन्त्र जडान गर्ने भएको छ । मङ्गलवार उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौं प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान शुभारम्भ गर्नुभएको हाे ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजसँगको सहकार्यमा महानगरपालिका क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरणहरू जडान गरेको महानगरले जनाएको छ ।
उपकरण शुभारम्भपछि बोल्दै उपप्रमुख डङ्गोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदूषण न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो । ‘गरिरहेका कार्यक्रमहरूको प्रभावकारिता मापन गर्न र थप तथा सुधारका कार्यक्रम गर्न तथ्यमा आधारित प्रमाण आवश्यक पर्छ । वायु प्रदूषण मापन यन्त्रले यस प्रकारका तथ्य उपलब्ध गराउँछ ।’
’प्रदूषणबाट आर्थिक, सामाजिक, वातावरणीय तथा विकास क्षेत्रमा पारेको असर घटाएर स्वास्थ्य सहर निर्माण गर्न धुलोरहित महानगर कार्यक्रम कार्यान्वयनमा छ । पार्क तथा हरियाली प्रवर्धन आयोजना सञ्चालन गरिएको छ । खुला रूपमा आगो बाल्न निषेध गरिएको छ । हाँडीगाउँमा कार फ्री शनिवारको कार्यक्रम सञ्चालन गरिएको छ । फोहरलाई स्रोतमा वर्गीकरण अभ्यासलाई प्रवर्धन गरिएको छ । वातावरणीय शिक्षाका लागि विद्यालयस्तरीय वातावरण र बालबालिका कार्यक्रम सञ्चालन गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘साझेदारिताबाट उपलब्धिलाई संस्थागत गर्दै जान सहयोग हुनेछ ।’
स्वास्थ्य सहर परियोजना गैर सङ्क्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरको विश्वव्यापी सञ्जाल हो । विश्व स्वास्थ्य सङ्गठन र विश्वव्यापी स्वास्थ्य सङ्गठनको महत्त्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भएको छ ।
पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन् । यी कणहरू सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्त प्रवाहमा मिसिन सक्छन् । यसै कारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घरोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य सङ्गठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने भनेको छ ।