सुर्खेत । कर्णाली भित्रिने मुख्य नाकामा डिजिटल प्रविधि जडान गरिएको छ। यो प्रविधिबाट अब अन्यत्रबाट भित्रिने र कर्णालीबाट बाहिरिने सवारी साधनको निगरानी हुनेछ। सडक यात्रालाई सुरक्षित बनाउन र कर्णालीमा सम्भावित अपराध रोक्न नाकामा स्वचालित प्रविधि जडान गरिएको हो।
पहिलो चरणमा कर्णाली भित्रिने मुख्य नाका बबईमा यो प्रविधि जडान भएको छ। बबई कर्णाली र लुम्बिनी प्रदेशको सिमाना जोडिएको नाका हो। डिजिटल प्रविधिमा आधारित स्वचालित नम्बर प्लेट पहिचान जडान भएपछि अब प्रहरीलाई अपराधको अनुसन्धान गर्न सजिलो हुनेछ। यस्तै चालकलाई पनि प्रहरीको चेक पोष्टमा लामो समयसम्म गाडी रोक्नुपर्ने र इन्ट्री गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। यो प्रविधिले नाकाबाट भित्रिने र बाहिरिने गाडीको संख्या, नम्बर प्लेट, गाडीको रंग र गाडी गुडेको समय स्वचालित रुपमा रेकर्ड गर्दछ।
यसकारण पनि अबदेखि प्रहरीले सडकमै रहेर गाडीको निगरानी, इन्ट्री र सोधपुछ गर्नुपर्ने बाध्यता हटेको हो। स्वचालित प्रविधि जडान भएको बबई कर्णाली भित्रिने मुख्य नाका हो। यो नाकाबाट दैनिक सयौं सवारी आउजाउ गर्दछन्। हालसम्म यो नाकामा प्रहरीले चेक पोष्ट स्थापना गरेर गाडीको निगरानी गर्दै आएको थियो। चेक पोष्टमा लामो समयसम्म गाडी रोक्नुपर्ने, लाइन लागेर इन्ट्री गर्नुपर्ने र प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो चालक तथा यात्रुको थियो। यही गुनासो सम्बोधन गर्न प्रदेश सरकारले नाकामा स्वचालित क्यामेरासहितको प्रविधि जडान गरेको छ।
अबदेखि यही प्रविधिमार्फत मुख्य नाकामा हुने गतिविधिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट निगरानी गरिने छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार यो प्रविधि जडान गर्न १० लाख रुपैयाँ खर्च भएको छ। मन्त्रालयका सचिव पुष्पराज शाहीले भने,‘यो स्वचालित प्रविधि हो, यसले नाकाबाट भित्रिने र बाहिरिने गाडीको डिजिटल रुपमै रेकर्ड राख्छ। अपराध नियन्त्रण गर्न र रेकर्ड भएको तथ्याकंबाट घटनाको अनुसन्धानमा पनि सहज हुनेछ।’
अब चेक पोष्टमा प्रहरी र चालकबीच हुने विवाद पनि रोकिने भन्दै उनले समय बचत हुने बताए। उनका अनुसार अब प्रहरीलाई सडकमै उभिएर चेकजाँच गर्नुपर्ने बाध्यता हुनेछैन। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले अब प्रहरीले गाडीमा चेकजाँच गरेर समय खेर नफाल्ने बताए। उनले भने,‘अब नाकामा प्रहरीले गाडी रोकेर लाइन लगाउँदैन, बारम्बार चेकजाँच गरेर समय पनि बर्बाद गरिने छैन। नाकामा हुने घटनाका सबै विवरण डिजिटल रुपमै रेकर्ड हुनेछन्, हामीलाई आएको सुराकी र शंकास्पद गाडीलाई मात्र रोकेर चेकजाँच गर्नेछौं।’
उनले अब नाकामा गाडी रोकेर इन्ट्री पनि नगरिने बताए। बरु डिजिटल निगरानीलाई प्रभावकारी बनाइने र गल्ती देखिएमा रेकर्डका आधारमा कारबाही गरिने उनको भनाइ छ। उनका अनुसार रातको समयमा पनि यो प्रविधिले गाडीको निगरानी र रेकर्ड राख्नेछ। डिजिटल निगरानीको शुक्रबार शुभारम्भ गर्दै मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई डिजिटल प्रदेशको रुपमा विकास गर्न लागिएको बताए। उनले भने,‘यो सुरुवात हो, अब प्रदेशका सबै नाकामा डिजिटल प्रविधि जडान गर्नेछौं। सडक यात्रालाई व्यवस्थित र सहज बनाउन हरेक जिल्लाका चेक पोष्ट डिजिटल प्रविधिमा आधारित हुनेछन्, यसले प्रदेशलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्नेछ।’
नाकामा स्वचालित प्रविधि जडान भएपछि यातायात व्यवसायी पनि उत्साहित भएका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष रमेश सापकोटाले अब सडकमा गाडी रोकेर इन्ट्री गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए। उनले भने,‘यो प्रविधि प्रदेशका सबै नाका र जिल्लामा जडान हुनुपर्छ, यसबाट सडक यात्रा सुरक्षित र व्यवस्थित हुनेछ।’ चेकजाँचका नाममा प्रहरी र यातायात व्यवसायीबीच हुने विवादलाई पनि यो प्रविधिले रोक्ने उनको भनाइ छ।