एसियाकप छनोटको पहिलो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

12

काठमाडौं । एएफसी एसियाकप छनोटको अन्तिमचरणको पहिलो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दे छ। नेपाल ३६ वर्षपछि मलेसियासँग औपचारिक प्रतियोगिता खेल्न लागेको हो।

१९८९ फिफा विश्वकप छनोटमा भिडेयता योनै औपचारिक प्रतियोगितामा प्रतिस्पर्धा हुन लागेको हो। यद्यपि मैत्रीपूर्ण खेलमा भने नेपालले यो बिचमा मलेसियासँग २ पटक प्रतिस्पर्धा गरिसकेको छ।

अन्तिम चरणको छनोटमा नेपालले मलेसियासहित भियतनाम र लाओससँग ‘होम एण्ड अवे’ आधारमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ। मलेसियासँगको खेलअघि नेपालले सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपालले एतिहासिक रुपमा १-० को जित निकाल्यो। खेलअघिको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियासँग बलियो आत्माविश्वास सहित मैदानमा उत्रिने बताए।

समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा मंगलबार राति ७:४५ मा सुरु हुनेछ। एसियन कपमा पुग्ने लक्ष्यमा रहेको मलेसिया आफ्नो पहिलो खेलमै जितको लक्ष्यमा रहँदा नेपाल अर्को सनसनीपूर्ण खेलको प्रतिक्षामा छ।

प्रशिक्षक रोसले मलेसियासँग अङ्कका लागिनै प्रतिस्पर्धा गर्ने बताउँदै नेपाल बलियो लक्ष्यमा प्रतिबद्ध रहेको बताए। उनले भने, ‘बलियो मलेसियासँग हामि अङ्ककै लागि प्रतिस्पर्धा गर्ने छौँ। हामी ड्र भएमा पनि सन्तुष्ट हुने छौँ।’ उनले थपे, ‘हाम्रो योजना जित्नका लागि नै हो। तर, बराबरीले हामीलाई दुःखी बनाउने छैन।’

त्यस्तै, कप्तान किरण चेम्जोङले अवे मैदान भए पनि राम्रो खेल पस्कने बताए। उनले भने, ‘हामी नेपालमा पनि धेरै दर्शकहरूको माझमा खेलिसकेका छौँ, यहाँ पनि नेपाली समर्थकहरू त हुनुहुन्छ हामी अवे मैदान भए पनि समर्थकको साथमा बलियो छौँ।’ उनले खेलमा पूर्ण रुपमा खुलेर खेल्ने बताए। उनले विना दबाब मैदान उत्रिने भन्दै त्यसले परिणाम दिने विश्वास ब्यक्त गरे।

यसअघि शुक्रबार सिंगापुरमा भएको मैत्रीपूर्ण खेल हेर्नका लागि पनि ठूलो मात्रामा समर्थक मैदान पुगेका थिए। किरणले मलेसियामा पनि नेपाली दर्शकको साथ अभुतपूर्व रहने विश्वास ब्यक्त गरे। रोसको प्रशिक्षणमा नेपालले पहिलो आधिकारिक प्रतियोगिता खेल्न लागेको हो। उनको प्रशिक्षण डेब्यु भने सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा भएको थियो। जुन खेलमा नेपाल १-० ले विजयी भयो।

मलेसियाका मुख्य प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपालविरुद्धको खेलको लागि टिम पूर्ण रुपमा तयार भएको भन्दै खेलका लागि टिम उत्साही रहेको बताए। प्रशिक्षक पिटले नेपालले सिंगापुरलाई हराएकोले नेपाललाई कमजोर नलिने पनि बताए। उनले भने, ‘हामी नेपाललाई कमजोर सम्झीएका छैनौँ। हामी आफ्नो खेल कसरी खेल्ने त्यसमा केन्द्रित छौँ।’

फिफा वरियतामा नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियालाई अहिलेसम्म नेपालले पराजित गर्न सकेको छैन। वरियतामा मलेसिया १३२औँ स्थानमा रहँदा नेपाल १७५औँ स्थानमा रहेको छ।

नेपाल र मलेसियाबिच कहिले कहिले प्रतिस्पर्धा?

नेपाल र मलेसियाबीच कुल ७ पटक प्रतिस्पर्धा भएको छ। पहिलो पटक नेपालले १९ सेप्टेम्बर १९८३ मा पहिलो खेल खेलेको थियो। मर्डेका कप अन्तर्गत भएको उक्त खेलमा नेपाल ७-० ले हारेको थियो। त्यसको दुई वर्षपछि अर्थात १६ मार्च १९८५ मा नेपालले दोस्रो खेल खेलेको थियो।

विश्वकप छनोट अन्तर्गत भएको उक्त खेलमा नेपालले एतिहासिक रुपमा गोलरहित बराबरीमा मलेसियालाई रोक्यो। उक्त बराबरीनै नेपालको मलेसियासँगको सर्वाधिक राम्रो नतिजाका रुपमा रहेको छ। त्यस बाहेकका बाँकी सबै ६ खेलमा नेपाल पराजित छ।

त्यस्तै फिफा विश्वकप छनोट अन्तर्गतकै खेलमा ३१ मार्च १९८५ मा नेपाल ५-० ले हारेको थियो भने २३ मार्च १९८९ मा २-० र सोही वर्ष अर्थात ७ जुन १९८९ मा भएको विश्वकप छनोटकै अर्को खेलमा नेपाल ३-० ले हारेको थियो। त्यसपछि नेपालले १५ अक्टोबर २००८ मा भएको मैत्रिपूर्ण खेलमा ४-० को हार भोग्दा पछिल्लो पटक २ जुन २०१९ मा भएको खेलमा नेपाल मलेसियासँग २-० ले हारेको थियो।

६ वर्षपछि हुन लागेको यो भेटमा नेपाल बलियो मलेसियासँग अहिलेसम्म हासिल नगरेको जितको प्रतिक्षामा मैदान उत्रिंदै छ। यो खेलमा नेपाल सिंगापुरविरुद्ध जस्तै नयाँ इतिहास हासिल गर्ने प्रयासमा रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here