काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङको बर्खास्तीको विरोध गरेका छन्।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेर कुलमानले राम्रो काम गरेको भनी उनको प्रशंसा गर्दै जनार्दनले यसअघि पनि लखेटिएका उनलाई फेरि पनि ल्याउने अभिव्यक्ति दिएका छन्।
यसअघि पनि ओलीले हटाएका कुलमानलाई माओवादी नेतृत्वको सरकारले फिर्ता ल्याएको थियो। २०७८ साल असारमा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शाक्यलाई नै हटाउँदै घिसिङलाई चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
यस पटक पनि कुलमानको कार्यकाल सकिन झन्डै चार महिना बाँकी रहँदा अहिलेको सरकारले फेरि शाक्यलाई पदमा फर्काएको एक मन्त्रीले जानकारी दिए।
साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गर्नेलाई लखेट्न पाउँदा युद्ध जितेको लागे पनि आत्मसन्तुष्टिको बाटो मात्र भएको र पछि पराजित हुने बताएका छन्।
‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्न चाहान्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुन्छन्,’ सामाजिक सञ्जालमा उनी लेख्छन्।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो। सरकारले उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।