काठमाडौं । यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।
आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहको उपसूचक हरियो देखिएको छ । व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ९०, विकास बैंक एक दशमलव १०, वित्त एक दशमलव ३०, होटल तथा पर्यटन शून्य दशमलव ४४, जलविद्युत् एक दशमलव शून्य नौ र लगानी समूह दुई दशमलव २० प्रतिशतले बढेको छ ।