काठमाडौं । प्रविधिको महाकुम्भ मेलाको रूपमा हेरिएको वर्डक्याम्प नेपाल २०२५ आजदेखि काठमाडौंमा सुरु भएको छ । वर्डक्याम्प चन्डोलस्थित कुन्डलिनी दरबारमा सुरु भएको हो ।
भोलिसम्म चल्ने उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा विज्ञहरूको उपस्थिति रहनेछ । सम्मेलनमा वर्डप्रेसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे अभिनाष कुन्डलियाको प्रस्तुति रहनेछ । जसमा एआई प्रयोगले वेबसाइट कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने थाहा पाइने आयोजकले जनाएको छ । यस्तै, ५० प्रभावशाली महिला २०८१ को सूचीमा पर्न सफल समाजसेवी सुभासिनी श्रेष्ठ वक्ताको रूपमा उपस्थित भएकी छिन् । उनी दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूसम्म डिजिटल पहुँच पुर्याउन काम गर्दै आइरहेकी छिन् ।
उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरका सूचना प्रविधि क्षेत्रका अनुभवी विज्ञ तथा वक्ताहरूको समेत उपस्थिति र प्रस्तुति हुनेछ । उनीहरूले प्रविधिका विभिन्न क्षेत्रको अनुभव, भोगाइदेखि प्राविधिक समस्या समाधानका उपायबारे आफ्ना अनुभव आदान प्रदान गर्नेछन् ।
सूचना प्रविधिमा चासो राख्ने सहभागीहरूका लागि सम्मेलनमा सहभागिताको अवसर समेत उपलब्ध गराइएको वर्डक्याम्प नेपालले जनाएको छ । सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने तथा आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । सम्मेलनमा अन्तरक्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत सत्रहरू सञ्चालन हुनेछन् ।