काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एन्फाले ए डिभिजन क्लबहरु समावेश हुने नकआउट प्रतियोगिता २०८२ साल वैशाख २० गतेदेखि गर्ने जनाएको छ ।
नेपाली फुटबलको लिग साइकल पूरा नभएकोले पछिल्लो पटक भएको शहीद स्मारक ए डिभिजन लिगमा खेलेको १४ वटा क्लबलाई नै यस नकआउट फुटबल प्रतियोगितामा सहभागी गराउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा र ए डिभिजनका १४ क्लबहरुबीच एएफसी क्लब कम्पिटिसन २०२५/२६ को सिजनको बारेमा छलफल भएको थियो । त्यसमा एन्फा महासचिव किरण राईले बैशाख २० गतेबाट लिगकम नकआउट फुटबल प्रतियोगिता आयो गर्ने र सो प्रतियोगिताको विजेताले एएफसी क्लब कम्पिटिसन २०२५/२६ सिजनमा भाग लिन पाउने प्रस्ताव गरेको र क्लबहरु सकरात्मक भइ सहमति जनाएको एन्फाले उल्लेख गरेको छ ।
यसैगरी प्रतियोगिताको लागि वैशाख १० गतेभित्र टिम दर्ता गर्ने र वैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्ने विषयमा सहमति पनि भएको एन्फाले जनाएको छ । प्रतियोगितासँग सम्बन्धित अन्य सबै पक्षहरूको बारेमा आगामी दिनमा छलफल जारी राख्ने निर्णय भएको एन्फाले जनाएको छ ।