काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने जनाएका छन् ।
मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै उनले यस्तो जनाएका हुन् ।
यसअघि पटक पटक कम्युनिस्ट एकताका प्रयास भए पनि सोचेजस्तो हुन नसकेको भन्दै उनले त्यसबाट शिक्षा लिनुको विकल्प नभएको जिकिर गरे ।
वामपन्थी एकताका लागि एक भएर अघि बढ्नुपर्ने भन्दै उनले एकताको झण्डा छाड्न नहुने तर्क पेस गरे । ‘वामपन्थी एकताको लागि निरन्तर लाग्नु नै छ । हामी विभाजित पनि भयौं । कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं,’ प्रचण्डले भने, ‘तर, हामीले एकताको झण्डा चाहिँ छाडेका छैनौं । अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ । एकताको झण्डा छाड्नु हुँदैन भन्ने कुरामा प्रष्ट छौं ।’