कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन आग्रह

8

काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले  प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उनले समर्थकहरूलाई आग्रह गरेका छन्।

राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन शाहीले यस्तो चेतावनी आग्रह गरेका हुन्।

‘यो १६ वर्षमा यिनीहरूले १४ वटा सरकार फेरे। १ हजार मन्त्री भए, करिब ३ हजार सांसद भए,३१ मुख्यमन्त्री र गाउँगाउँमा लुटेराहरूले देश लुटे’, उनले प्रश्न गर्दै भने ‘२५ वटा अस्पताल राजाले बनाए। यिनीहरूले के बनाए ? यसकैविरुद्ध हामीले आन्दोलन गरेका हौँ।’ शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर कांग्रेस एमाले र माओवादीलगायत गणतन्त्रवादी नेताहरूले बताउने गरे पनि भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए।

उनले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन्।

आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको जनाए।

त्यस्तै शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने माग राखेका छन्। प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्‍याउन देशले १५ खर्बको भौतिक क्षति व्यहोरेको उनको दाबी छ।

आमसभामा बोल्दै शाहीले भने, ‘१० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्ब, जुन आजको मूल्य ५ खर्ब हुन्छ, को भौतिक सम्पत्ति ध्वस्त पारेका छन् । त्यसको ब्याजसहित प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छ । के परिवर्तन भयो ? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबैलाई पदमा पुर्‍याउन यो देशले ३०५ खर्ब, आजको मूल्यमा १५ खर्ब १५ अर्बको भौतिक क्षति भोग्यो । त्यसको एक-एक हिसाब माओवादीले तिर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here