काठमाडौं । राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले राजसंस्था पुनर्स्थापना नभएसम्म आगामी सात गतेदेखि सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने जनाएकी छन्।
बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार मात्र गरेको भन्दै आगामी सात गतेदेखि नेताहरूको दानापानी बन्द गर्न आह्वान गरिन्।
आगामी वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने बताइन्।
‘यो आज सुरुवात हो । अब ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं। यहीँ सुत्छौं,’ उनले भनिन्, ‘खाना पनि यहीँ पकाउँछौं। जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था नभएसम्म यहीँ बस्छौं।’
‘रगत तातेको छ। हाम्रा नेताहरू जेलमा छन्। तुरुन्तै निकालियोस् नेताहरूलाई। यो सुरुवात हो। राजतन्त्र पुनर्स्थापना नभएसम्म अव ७ गतेदेखि यहीँ बस्छौ, यही खान्छौ यहीँ सुत्छौ’, पोखरेलको भनाइ छ।