काठमाडौं। संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीहरूलाई वैशाख २१ गतेसम्म रिहा नगरे सामूहिक गिरफ्तारीको चेतावनी दिएका छन्।
समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. गुरुङले भने, ‘यदि सरकारले वैशाख २१ गतेभित्र हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ ।’
शक्ति प्राप्तिका लागि राजावादी नेताहरूले मन्दिरमा साधना गरिरहेको उनले जनाए । ‘शक्ति साधना नगरेसम्म सत्ता प्राप्ति हुँदैन । अहिले हामी चुप लागेर बसेका छैनौं,’ उनले भने ।
कतिपय शक्ति मन्दिर फुटाउने, मूर्ति फुटाउने, पिसाब छर्कने गर्दै हिंडिरहेका उल्लेख गर्दै उनले भने, ‘हामी त्यही मन्दिरमा गएर ए भगवान हामीलाई शक्ति देऊ है भनिरहेका छौं ।’ तीनकुने प्रदर्शनपछि राजावादीहरू भागे भन्ने प्रचार भइरहेको भन्दै उनले यसको खण्डन गरे । ‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ,’ उनले भने, ‘तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं ।’