काठमाडाैं । ललितपुरकाे जावलाखेलमा रहेकाे सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।
चिडियाखानाले आज काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नागरिककाे माग अनुसार आउँदाे वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ ।’ चिडियाखाना अहिले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।
चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि भक्तपुरकाे सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधान अनुसार आवश्यक काम भइरहेको जनाउनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको संवर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो । साथै उहाँले आफू मेयर भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनराेत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराउनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको जनाउनुभयो ।
कोषका सदस्य सचिव डा. नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उद्देश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताउनुभयो । उहाँले सेवाग्राहीको चाहना अनुसार चिडियाखानामा सिंह र जेब्रा ल्याउनका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा सदर चिडियाखानाका प्रमुख सत्यनारायण साह, ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्का र स्थानीय गुठीका अध्यक्ष राजेन्द्र महर्जनले कुल देवताको मन्दिर र फल्चाको निर्माणले चिडियाखानाको संरक्षण र संवर्द्धनमा स्थानीयको अपनत्व थपिने उल्लेख गर्नुभयो ।