काठमाडाैं । पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने जनाएका छन् ।
नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने जनाए । उनले शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जिकिर गरे । त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको धारणा राखे ।
अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उनले जनाए । उनले कांग्रेसको विधान पनि समावेशी समानुपातिक प्रकारको रहेकाले पार्टीमा सवैको प्रतिनिधित्व रहेको जनाए । उनले देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको पनि बताए । ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ,’ सभापति देउवाले भने । सभापति देउवाले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए । उनले कांग्रेसको विधान समावेशी समानुपातिक रहेको र पार्टीमा मुश्लिम समुदायबाट पनि ठूला–ठूला नेता रहेको उनले बताएका छन् ।