सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा पेस गरिँदै

10

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को सरकारको  वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालयले तय गरेको हो।

नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्ताका मुख्य साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई अनिवार्य बैठकमा सहभागी हुन ह्वीप जारी गरेका छन्।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले नेपालखबरसँग भने, ‘नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्तापक्षका सांसद बैठककक्षमा सहभागी त हुनै पर्यो। सांसदहरु गयल हुने भन्ने हुँदैन। त्यसैले अनिवार्य बैठकमा सहभागी हुन ह्वीप लगाइएको छ। उता नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपस्थित हुनका लागि ह्वीप पत्र नै जारी गरेका छन्।

एमाले प्रमुख सचेत महेश बर्तौालले जारी गरेको ह्वीपमा भनिएको छ, ‘नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ, नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here