काठमाडौं । इन्डोर क्रिकेट फ्रेन्चाइज लिग आगामी भदौ २३ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको लिगमा १० टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक काठमाडौँ स्पोर्ट्स इभेन्ट्स प्रालिले जानकारी दियो ।
लिगका खेलहरु बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा हुनेछ । टी–१० ढाँचामा हुने प्रतियोगितामा सहभागी टोलीले अक्सन (खरिद–बिक्री प्रक्रिया) का आधारमा खेलाडी अनुबन्ध गर्नेछन् ।
अक्सनमा सहभागी खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीनवटा श्रेणीमा विभाजन गरिनेछ । ‘ए’ श्रेणीका खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ श्रेणीका खेलाडीले ५ देखि १० हजार रुपियाँ पाउनेछन् ।
टोलीमा मार्की खेलाडी पनि रहनेछ । मार्की खेलाडी उमेर समूह वा सिनियर राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको हुनुपर्ने आयोजकले जनाएको छ ।
४५ लाख रुपियाँ लगानीमा सञ्चालन हुने लिगको पुरस्कार रासी पछि सार्वजनिक गरिने बताईएको छ ।


















