पुर्वी नवलपरासीको विनयी त्रिवेणी ६ मा जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिबिच अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ।
चितवन माणी नगरपालिका र पुर्वी नवलपरासी विनयी त्रिवेणी वडा न.६ र ७ का जनप्रतिनिधि सहित बाल्मिकी आश्रम स्थित मन्दिर समितिका प्रतिनिधि बिच छलफल सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
माणी नगरपालिका उपप्रमुख खेम प्रसाद महतोको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।
नेपाल अधिराज्य कै प्रमुख तीर्थ स्थल मध्ये एक बाल्मिकी आश्रम भुमिको सरसफाइका लागी आवश्यक पुर्वाधार तयार पार्न र आश्रमलाई पर्यटकहरुको केन्द्रविन्दु बनाउन अन्तरक्रिया केन्द्रित रहेको जानकारीमा आएको छ।
अन्तरक्रिया कार्यक्रममा विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर उपसमितिका सदस्यहरुले सीता माता मन्दिर सहित हरिहर मन्दिरका पुजारीलाई स्थानीय सरकारले नै सुविधा सहितको व्यवस्थापन गर्न सुझाव दिएका थिए।
सो अवसरमा माणी नगरपालिका का जनप्रतिनिधिहरुले बाल्मिकी आश्रम आउने नेपाल भारतका तीर्थालुहरुबाट केही प्रवेश शुक्क लिएर भएपनि सरसफाइ लगायत काम गर्न आग्रह गरिएको बुझिएको छ। तर बाल्मिकी आश्रम सीता माता मन्दिरका सदस्यहरुले अहिले सो कार्य गर्न उचित नहुने सुझाव दिएका थिए।
विनयी त्रिवेणी ६ त्रिवेणीबाट बाल्मिकी आश्रम आवतजावत गर्न झोलुङ्गे पुल निर्माण भएपनि चितवन राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो अनकंटार र सुनसान भएको हुँदा उक्त बाटोबाट आवतजावत हुन सकेको छैन ।
विनयी त्रिवेणी ६ मा बसेको त्रिपक्षिय बैठकबाट ठोस निष्कासन निकाल्न नसके पछि दुई साताभित्र विश्व सनातन धर्म स्थापनार्थ केन्द्रीय समिति र उपसमिति सहित जनप्रतिनिधि बिच वृहत छलफल गरि निष्कर्ष निकाल्ने सहमति भएको जानकारीमा आएको छ।
सो अवसरमा माणी नगरपालिका १ का वडा अध्यक्ष अमित लामा,वडा न.६ का वडा अध्यक्ष दिपेन्द्र पौडेल,विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाह, वडा न.७ का वडा अध्यक्ष उमेश कार्की, मन्दिर उपसमितिका सदस्य गोपाल पाठक,टेक बहादुर थापा,वडा सदस्य योगिता साहनी,कोटीहोमका अध्यक्ष मोतीलाल उपाध्याय लगायत बाल्मिकी आश्रम स्थित सुरक्षा निकाय प्रमुखहरुको पनि अन्तरक्रिया कार्यक्रममा उपस्थिति रहेको थियो।
यसै क्रममा लामो समयको प्रयासपछि बाल्मिकी आश्रममा सोलर सिस्टममा आधारित बिजुली बत्ती बलेकोमा अध्यारोबाट गुज्रिएको आश्रम अहिले उज्यालो भएकोले आश्रम वरिपरि बस्ने सुकुम्बासी परिवार,सुरक्षा युनिट र मन्दिर परिसर झिलिमिली उज्यालो भएको जानकारी प्राप्त भएको छ।
त्यसैगरी धमिलो र दुषित पानी पिउन बाध्य भएका आश्रमका नेपाली नागरिकहरुलाई शुद्ध र सफा पानी पिलाउने व्यवस्था मिलाउन पुर्व रक्षा सचिव एवं धार्मिक व्यक्तितब आत्माराम पाण्डेको अथक प्रयास भइरहेकोमा केही समयपछि उक्त ठाउँमा शुद्ध पानी पिलाउने कार्य अगाडि बढिसकेको पनि बुझिएको छ।


















