काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको जनाएका छन्।
सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भण्डारीले सार्वजनिक रुपमै एमालेको सदस्यता नवीकरण गरेको र पार्टीमा सक्रिय रुपमा राजनीति गर्ने घोषणा गरिसकेको अवस्थामा पार्टीले यसबारेमा छलफल गरी आवश्यक निर्णय लिने जनाए।
पार्टीमा सक्रिय हुने घोषणापछि अब पार्टीले उचित स्थान दिनुपर्ने उनको धारणा थियो।
उनले भने, ‘उहाँले सार्वजनिक ढंगले नै घोषणा गरिसकेपछि अब यो उहाँको व्यक्तिगत विषय मात्रै भएन। यो पार्टीको सार्वजनिक विषय भयो। नेकपा एमालेको राजनीतिमा सक्रिय रुपमा फर्किने घोषणा गरेर आफ्ना सेवा, सुविधा सबै त्यागेर आइसकेपछि पार्टीको मामिला मात्रै भएन। हामी छलफल गर्छौं। उहाँ सक्रिय रुपमा आउनुहुन्छ पार्टीमा उहाँलाई उचित स्थान दिनुपर्छ। उहाँको सम्मानजनक ठाउँ खोज्नुपर्ला। पार्टीको हाइलेभलमा कुराकानी होस् भन्ने हाम्रो चाहना छ।’
सचिव भट्टराईले पूर्वराष्ट्रपति भइसकेको र यसअघि पनि पार्टीको उपाध्यक्षसमेत रहिसकेको अवस्थामा पार्टीको प्रणालीबाटै भण्डारी अघि बढ्ने कुरामा कुनै शंका नरहेको जनाए।
उनले थपे, ‘अध्यक्षले कुरा के हो, कसो हो भन्ने स्पष्ट होस् भन्ने चाहना छ। पार्टीमा छलफल गर्छौं। सार्वजनिक विषयलाई लुकाएर, कार्पेटमुनि राखेर हल हुँदैन, त्यो हल गर्नैपर्छ। उहाँको उद्देश्य, गन्तव्य, के चाहनुभएको छ, केका लागि आउन चाहनुभएको छ त्यो भन्नुभएको छैन, पार्टीमा भन्नुहोला। उहाँ जत्तिको मान्छे पार्टीको प्रणालीबाटै जानुहुन्छ। हामी सम्मानजनक ढंगले सेटल गर्छौं। नेकपा एमालेसँग त्यो क्षमता छ। अध्यक्षले पार्टीमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ।’


















