पत्रकार महासंघ मधेसको गुठी संस्थानसँग जग्गाको सम्झौता

10

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेस प्रदेशको गुठी संस्थानसँग जग्गाको सम्झौता भएसँगै कब्जामा परेको छ ।

नेपाल बार एशोसिएशन जनकपुरधामले गुठी संस्थानसँग सम्झौता भएको जग्गामा बलजबदी कब्जा गरेको हो । बारले महासंघको उक्त जग्गामा पार्किङ स्थाल बनाउँदै जग्गा अतिक्रमण गरेको हो ।

बारले साउन २० गते सूचना जारी गर्दै २१ गतेदेखि बार एशोसिएशनको छेउमा रहेको महासंघसँग सम्झौता भएको जग्गामा कानुन व्यवसायीहरुलाई गाडी पार्किङ गर्न भनेको थियो ।

यता, पत्रकार महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बनजाराले गुठीसँग विधिवत रुपमा सबै कानुनी प्रक्रिया पूरा गरेर वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा ३ कट्ठा जग्गाको सम्झौता भएको बताए । उनले गुठीसँग २० वर्षको लागि जग्गाको सम्झौता भएको भन्दै सम्झौता भएसँगै विभिन्न प्रकारको खेल सुरु भएको बताए ।

अध्यक्ष बनजाराले बारले यो ठाउँमा कसैले पनि भवन बनाउनुहुँदैन, आउनुहुँदैन भन्ने पूर्वाग्रह ढंगले व्यवहार गरेको भन्दै त्यो आपत्ति जनक रहेको बताए । उनले बारसँग वार्ता समेत भएको बताउँदै भने, ‘बारसँग हाम्रो मौखिक सम्झौता पनि भयो । यो जग्गाको पछाडि पनि जग्गा छ, हामीले यो जग्गाको पछाडि रहेको जग्गाको प्रक्रिया बढाउनुस हामीले के गर्नुपर्छ गर्छौ । बाटोको समस्या हुन्छ भने हामी बाटो फुकाइदिन्छौँ भन्ने मौखिक सम्झौता भयो ।’

अध्यक्ष बनजाराले अनौपचारिक रुपमा हिजो मात्र यो जग्गामा रिट परेको आफूहरूलाई जानकारी भएको बताए । उनले भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको आफूहरूलाई जानकारी भएको बताए ।

‘विद्वान अधिवक्ताहरुले यो ढंगले व्यवहार प्रदर्शन गर्नु, त्यो विद्वतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ’, उनले अगाडि भने, ‘कुनै पनि अर्थमा उहाँहरुको यो कामको कुनै पनि नागरिकले यो तहसम्म पुगेर अरुले कानुनी रुपमा प्राप्त गरिसकेको जग्गा आफ्नो भन्नु कहाँ सम्मको कुरा हुन्छ ।’

अध्यक्ष बनजाराले यो ठाउँमै आफूहरूले प्रदेशको भवन बनाउने बताए । अनावश्यक किचलो सिर्जना गरेर गतिशीलतामाथि अवरोध सृजना गरे पनि ५ गते नै यो विषयको टुङ्गो लाग्नेमा आफूहरूलाई विश्वास रहेको बताए । बनजाराले अदालतले सबैलाई न्याय दिएकाले आफुहरु पनि न्याय पाउने आशावादी रहेको बताए ।

महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिले साउन १९ गते महासंघको गुठी संस्थानसँग ३ कट्ठा जग्गाको सम्झौता भएको बताए ।

उनले जेठ ७ गते गोरखापत्रमा ३ वटा जग्गाको लागि सूचना प्रकाशित भएकोमा विभिन्न संघ संस्थाले प्रस्ताव पेस गरेकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरेपछि महासंघले भरेको प्रस्ताव पास भएको बताए ।

महासचिव क्रान्तिले अरुले भरेको प्रस्ताव फेल भएपछि गुठी संस्थानले महासंघले जग्गा पायो भनेर साउन २ गते गोरखापत्रमा सूचना प्रकाशन गरेको बताए । गुठीले साउन ९ गते जग्गा परेको भनेर सम्झौता गर्न पत्र पठाएकोमा साउन १९ गते सम्झौता गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here