म्याट्रिक्स फाइट नाइट १७ विजेता रवीन्द्र ढाट २ लाख रुपैयाँसहित सम्मानित

20

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का विजेता नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ।

साथै, प्रथम खो खो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ (जम्मा २२ लाख) प्रदान गरिएको छ। खो खोको रकम नेपाल खो खो संघले व्यवस्थापन गर्ने जनाइएको छ।

सम्मान कार्यक्रममा महानगर प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो। सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको गौरव बढाउने बताए।

भारतको नोएडामा भएको एमएफएन १७ मा रवीन्द्रले बान्टमवेट उपाधि जितेका थिए। उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा हराउँदै उपाधि जिते र आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा पुर्‍याए। बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली बनेका हुन्।

खो खो पुरुष टोलीले नयाँ दिल्लीमा भएको फाइनलमा भारतसँग ५४–३६ ले पराजित भएको थियो भने महिला टोली ७८–४० ले पराजित भएको थियो। दुवै टोलीका कप्तानहरूले सम्मानबाट हौसला बढेको बताए।

कुनै पनि टिम खेलको विश्वकपमा नेपालले खेलेको यो पहिलो फाइनल थियो।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here