अपराधका घटनामा वृद्धि

15
जिल्ला प्रहरी परिसर काठमाडौँमा बुधबार समसामयिक शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान र वार्षिक समीक्षा सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनुहुँदै कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा वृद्धि भएको जनाएको छ ।

काठमाडौं प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा शून्य दशमलव ३३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको परिसरले जनाएको छ । धेरै संख्यामा दर्ता भएका उजुरीहरूमा बैकिंङ कसुर पहिलो नम्बरमा रहेको छ भने त्यसपछि क्रमशः अभद्र व्यवहार, चोरी, ठगी, लागूऔषध, आत्महत्या, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग लगायत रहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी गराए ।

अपराधका घटना बढ्दै गए पनि जनशक्ति भने अपुग रहेको उनले बताए । काठमाडौंमा कुल दरबन्दी ४ हजार १६ रहेकोमा हाल कार्यरत जनशक्ति ३ हजार २ सय ३३ मात्रै रहेको अधिकारीले जानकारी दिए । उgले जनशक्ति कम हुँदाहुँदै पनि शान्ति सुरक्षामा कुनै कमी हुन नदिने गरी प्रहरी परिचालन गरिएको उल्लेख गरे  ।

त्यस्तै जिल्ला प्रहरी परिसर, काठमाडौँले विपद्का घटनामा समेत प्रभावकारी ढंगले काम गर्न सफल भएको जनाएको छ । स्थापनाकालमा ४६ वटा सिआरभी भ्यान रहेकोमा हाल ३८ वटा सिआरभी भ्यान सञ्चालनमा रहेको, ६३ वटा क्युआरटी सञ्चालनमा रहेको काठमाडौं परिसरले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here