इलाम बजारमा रोपाइँ जात्रा मनाइयाे

24

पशुपतिनगर । इलाम बजारमा रोपाइँ जात्रा मनाइएको छ । इलाम बजारमा पर्वकै रुपमा मनाईंदै आएको जात्रा धान रोप्ने, हल जोत्नेदेखि बाउसे गर्ने र रोपाहारले धान रोप्ने सम्मका अभिनय प्रस्तुत गर्दै मनाइएको हो ।

रोपाइँ जात्रामा उल्लासका साथ छिमेकी गाउँबाटसमेत आउनुभएका सहभागीको उपस्थिति रहेको थियो । जात्रामा स्थानीय लोक बजाको तालमा हली, बाउसे, रोपहार लगायतका पात्रले जातीय भेषभूषामा सजिएर बजार परिक्रमा गर्दा दर्शकको भीड लागेको थियो ।

त्यस्तै लाखे, वनकाइँला, वनकाइँली, सिल्भर मेनलगायतका आकर्षक पात्रको रोचक अभिनयले जात्रालाई रोमान्चित बनाएको थियो । स्थानीय संस्कृतिका जानकार युद्धप्रपाद बैधले रोपाइँ जात्रा इलामको सांस्कृतिक पहिचानको पर्व भएको जनाउनुभयो । “यो पर्वमा कुन जाती, कुन थर भन्ने रहेन केवल इलामका सांस्कृतिक उत्सवका रुपमा हेर्न थालिएको छ, यसलाई बचाई राख्नु पर्छ,” बैद्यले भन्नुभयो ।

सुगौली सन्धीपछिको समयदेखि नेवार समुदायको बसोबास इलाममा सुरु भएपछि रोपाइँ जात्रा पर्वका रूपमा मनाउन थालिएको इतिहास छ । नेपाल भाषा तथा संस्कृति समाजले संयोजन गरेको यस वर्षको जात्रामा सबै जातजातिका मौलिक र सांस्कृतिक प्रस्तुति समेटिएका थिए । नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रबिण श्रेष्ठका अनुसार रोपाइँ जात्रामा सहभागी युवा–युवतीले आफ्ना जातीय पोशाकमा सजिएर धान रोप्ने अभिनय गर्दै बजार परिक्रमागर्नुका साथै हलगोरु जोत्नेदेखि मुङग्रे नाचसम्मका प्रस्तुति जात्रामा देखाईएको छ ।

जात्रा अघिका दिनहरूमा नाग पञ्चमीदेखि लाखे नाचको आयोजना गरिन्छ भने लिम्बु समुदायले धान नाच प्रस्तुत गर्ने परम्परा पनि कायम छ । असार–साउन महिनामा धान रोपाइँ सकेपछि मैजारोको रूपमा रोपाइँ जात्रा मनाउने प्रचलन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here