काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् ।
राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरे ।
उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरुले कुनै न कुनै व्यवसाय गर्नैपर्ने उल्लेख गरे ।
लिङ्देनले आफूले राजनीतिक जीवनमा कुनै बेइमानी नगरेको बताउँदै कसैको एक रुपैयाँ पनि घुस नलिएको दाबी गरे ।
उनले नेपालका स्रोत साधनको अधिकतम् उपयोग गर्न सके कुनै पनि युवाहरू विदेशिनु नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने उल्लेख गरे ।
पार्टीले लिएको उद्देश्यअनुरुप एकजुट भएर लाग्न पार्टीको महिला संगठनलाई उनले निर्देशन दिएका छन् ।


















