यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक

26

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ।

समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन वनयात्रा गर्ने नियम रहेकामा आज बिहान ०९ः४६ बजे वन यात्रा सुरु भएको हो। आज राति ०९ः०३ बजे इन्द्रध्वजोत्थानका लागि लिङ्गोको रूख काट्ने साइत छ।

समितिले दिएको आज रातिको साइतमा काटिने लिङ्गो भदौ १५ गते आइतबार भोटाहिटीबाट नगर प्रवेश गराइन्छ। इन्द्रजात्राको परम्परागत नियमअनुसार भोटाहिटीबाट अघि बढाउनुलाई ‘नगर प्रवेश’ भनिने गरेको समितिका प्रशासन सहायक खिलहरि घिमिरेले जनाए।

यही भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थानको साइत छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने शास्त्रीय विधि छ। इन्द्रजात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशी हो। यस दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत मुख्य व्यक्तिहरुले कुमारी इन्द्रयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ। यसै दिन तल्लो टोलमा यात्रा गराइन्छ। भदौ २२ गते आइतबार माथिल्लो टोल यात्रा गराइन्छ। यात्राका लागि साइतको आवश्यकता नपर्ने समितिले जनाएको छ।

यही भदौ २६ गते बिहीबार नानिचा यात्रा गरिन्छ। त्यसै दिन राति १०ः३२ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढाल्ने साइत रहेको छ। आश्विनकृष्ण चतुर्थीका दिन इन्द्रध्वज पातन गरिन्छ। इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नुहुनेछ। भाद्र शुक्ल द्वितीयादेखि सुरु हुने इन्द्रजात्राको साइतका कार्यक्रम आश्विन कृष्ण चतुर्थीका दिन सकिन्छ। यसरी १७ दिनसम्म इन्द्रजात्राका विभिन्न गतिविधि हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here