विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च

20

काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च भएको छ । समग्र बजार मागमा अपेक्षित सुधार हुन नसक्दा सुस्त भएको आयातका कारण विदेशी विनिमय सञ्चिति ऐेतिहासिक बनेको हो ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ असारसम्म आइपुग्दा ३१.२ प्रतिशतले वृद्धि भई २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

आव २०८१/८२ को आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यो सञ्चिति पर्याप्तर्ता औसत भन्दा धेरै हो ।

२०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमश: ४३.८ प्रतिशत, १२८.१ र ३४.१ प्रतिशत छ । २०८१ असार मसान्तमा उक्त अनुपात क्रमश: ३५.८ प्रतिशत, १०८.६ र २९.३ प्रतिशत थियो ।

२०८२ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति २९ खर्ब २९ अर्ब ६९ करोड तथा दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रहेको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ८३ अर्ब २६ करोडले बचतमा छ । २०८१ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ३ खर्ब ५ अर्ब ८४ करोडले बचतमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here