काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकमा चारवटा कार्यसूचीमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा जारी बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधिबारे छलफल भैरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार बैठकमा पार्टी सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियान, हुँदै गरेको पार्टी प्रशिक्षण कार्यक्रमहरूबारे पनि छलफल गर्ने कार्यसूची छ। बैठकमा संगठन सम्बन्धि गतिविधिबारे जानकारी लिने र विभागको क्रियाशीलताबारे पनि छलफल भैरहेको छ ।
आज केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागहरूको कामबारे छलफल भैरहेको झाले जानकारी दिए । यस्तै प्रदेश इन्चार्जहरूको कार्यसम्पादनबारे पनि छलफल हुनेछ।
आजको बैठकमा रूपन्देही(३ उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्यांकन विधिबारे पनि छलफल हुने उनले बताए। कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना प्रतिस्पर्धी छन्। उनीहरूबीच पार्टीले लिडरसिप एकेडेमीको अभ्यास गरिरहेको छ।
अन्त्यमा प्रारम्भिक निर्वाचनमार्फत् उम्मेदवार टुंग्याइने हुँदा त्यसको कार्यविधिबारे छलफल भइरहेको उनले बताए। वडा परिषद् कार्यविधि (पालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि समेत) र विशेषज्ञहरूलाई आह्वान गर्नेबारे छलफल हुने कार्यसूची तय गरिएको छ।


















