रुबी साह हत्या प्रकरण अघिकाे भिडियो सन्देश सार्वजनिक

18

रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक भएको छ।

पासवानले हत्या गरेको स्वीकार गर्दै रुबी कि आमानै प्रमुख दोषी रहेको भन्दै भिडियो बनाएका हुन्।

माधव नारायण नगरपालिका वडा नं–६ स्थित खेतमा पासवनको जलेको शरीर प्रहरीले फेला पारेको थियो। उनले आफ्नो शरीरमा आफैंले आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका छन्। उनले आफ्नो शरीरमा आगो लगाउनु अगाडि रुबीको हत्या आफैले गरेको बताएका छन्।

घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको उनले स्वीकारेका छन्। उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरे भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ।

भिडियोमा पासवानले रुबीसँग कक्षा १० पढ्दादेखि नै प्रेम सम्बन्ध रहेको र दुवैजनाले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको तर दुवै परिवारले सम्बन्ध अस्वीकार गरेको बताएका छन्। उनले रुबीकी आमाले पैसाको प्रलोभनमा परेर छोरीलाई अन्य केटाहरूसँग सम्बन्ध राख्न लगाएको दाबीसमेत गरेका छन्।

आत्मदाह अघि उनले भिडियोमार्फत आफू र रुबीबिच लामो समय कुराकानी भएको र दुवैजनाले मर्ने निर्णय गरेको पनि बताएका छन्।

“रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ,” उनले भिडियोमा भनेका छन्। साथै, पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको भन्दै उसलाई दोष नदिन पासवानले आग्रह गरेका छन्।

गत शनिवार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसपछि सो घटनाको प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानको सुई लक्ष्मण पासवानतिर गएको थियो।

हाल पासवानलाई गरुडा स्थित बेटर नेपाल हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here