काठमाडौं । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा फर्कन नपाउने व्यवस्था देशको संविधानमा नै राख्नुपर्ने सुझाव दिएको छ । पार्टीको विधान महाधिवेशनका लागि अध्यक्ष गणेश पाण्डेले पठाएको सुझावमा पार्टीको विधानमा पनि व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
“देशको सर्वोच्च संस्था राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तित्वहरू सक्रिय राजनीतिमा फर्कने विषय यी पदहरूको गरिमा र नैतिक मूल्यमान्यताका हिसाबले पनि उपयुक्त मानिँदैनन् । त्यसैले त्यस्ता पदमा पुगेका व्यक्तिहरूलाई ससम्मान सक्रिय राजनीतिमा फर्कन नपाउने व्यवस्था देशको संविधान र पार्टीको विधानमा किटान गर्नुपर्दछ,” भनिएको छ ।
साथै, विभिन्न संवैधानिक आयोगमा नियुक्त भएका प्रमुख आयुक्त र आयुक्तहरूलाई पनि सक्रिय राजनीतिमा आउन रोक्दा उपयुक्त हुने सुझाव दिइएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला गतिविधिले तरंग पैदा गरेको छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ मा गोदावरीमा हुँदै छ ।

















