काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणभन्दा अगाडि सदनबाट राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन माग गरेका छन् ।
‘लन्डनको ब्रिटिस लाइब्रेरीमा रहेको कार्टोग्राफिक एभिडेन्स अर्थात् १८२७ मा प्रकाशित सर्वे अफ इन्डियाको पहिलो ब्रिटिस नक्सा होस् या १८५६, १८७९ र १९०४ मा छापिएका अन्य नक्साहरू,’ पराजुलीले भने- ‘सबैले स्पष्ट देखाएका छन् काली नदीको उदगम लिम्पियाधुरा हो र यही नदी नेपालको पश्चिमी सीमा हो। यो दस्ताबेजलाई इतिहासले अमिट बनाइसकेको छ।’
नेपालको भूभाग माथि अन्य राष्ट्रहरूले नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना गर्ने कुनै सम्झौता वा गतिविधि वैधानिक नहुने र हुन नसक्ने उनले बताए । भारत र चीनबिच नेपाललाई सहभागी नगराई लिपुलेक मार्ग प्रयोग गर्न गरिएको समझदारी अन्तर्राष्ट्रिय कानुनको दृष्टिले अवैध भएको पराजुलीले बताए ।
विगत एक हप्तादेखि माइतीघर मण्डलामा आन्दोलनमा रहेका उखु किसानसँग सरकारले यथाशीघ्र वार्ता गरेर फेरि कहिल्यै आन्दोलन गर्नुपर्ने नगरी सम्बोधन गर्नको लागि आग्रह गरे ।


















