काठमाडौं । ठमेलको टर्टल लाउन्ज एन्ड क्लबमा एक युवकमाथि ज्यान जाने गरी आक्रमण गर्ने सात मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासन्दरी गाउँपालिका–५ घर भएका ३४ वर्षीय सुमन भनिने बिष्णु श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति १० बजे ठमेलबाट पक्राउ गरेको हो ।
कुटाइ खाने राजकुमार र सुमनबीच पूर्व चिनजान समेत नरहेको प्रहरीले बताएको छ । राजकुमारलाई उनले फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरेको प्रहरीले बताएको छ । आक्रमणबाट ती युवकको नाक समेत भाँचिएको थियो ।
२६ माघ २०७० मा प्रहरी कालिमाटीबाट अभद्र व्यवहारको कसुरमा, १५ साउन २०७५ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट अभद्र कसुरमा, ३० साउन २०७५ मै ललितपुरबाट चोरी कसुरमा, २४ पुस २०७६ मा ललितपुरबाटै अभद्र कसुरमा, २१ भदौ २०७८ मा कालिमाटीबाट ज्यान मार्ने उद्योगको कसुरमा, १२ साउन २०८० मा महाराजगञ्जबाट अभद्र कसुरमा र १९ साउन २०८० मा महाराजगञ्जबाटै चोरी कसुरमा मुद्दा चलेको भेटिएको हो ।
अहिले ठमेलको यो घटनासहित भने उनीविरुद्ध आठौं पटक मुद्दा चलेको देखिन्छ । उनी ठमेल क्षेत्रका क्बलमा गुण्डागर्दी गर्दै हिँड्ने गरेको प्रहरीले बताएको छ ।


















