मुद्दती निक्षेपतर्फको ब्याजदरमा कटौती

12

काठमाडौं । माघ महिनाका लागि नेपालका एक दर्जन वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। बजारमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदरमा कटौती गरेका हुन्।

पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.१४ प्रतिशत विन्दुले घटेर ४.६६ प्रतिशत कायम भएको छ, जुन पुसमा औसत ४.८ प्रतिशत थियो। ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास, एभरेष्ट, सिद्धार्थ, सानिमा, लक्ष्मी सनराइज, हिमालयन, माछापुच्छ्रे, सिटिजन्स, कुमारी, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड रहेका छन्। यीमध्ये हिमालयन र माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएका छन्। अधिकांश बैंकहरूको ब्याजदर अब ४.३६ प्रतिशतदेखि ५.५० प्रतिशतको सीमाभित्र झरेको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याजदर सबैभन्दा कम (४.३६ प्रतिशत) देखिएको छ भने ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ५.५० प्रतिशत ब्याज दिनेछ। प्राइम कमर्सियल बैंकले भने बजारको विपरीत ट्रेन्ड पछ्याउँदै माघका लागि ब्याजदर सामान्य बढाएको छ। उसले पुसको ४.२५ प्रतिशतबाट वृद्धि गरी ४.४० प्रतिशत पुर्याएको छ।

संस्थागत मुद्दती निक्षेपको हकमा भने अधिकांश बैंकहरूले पुसकै दरलाई यथावत राखेका छन् भने ४ वटा बैंकले मात्र घटाएका छन्। निक्षेपको ब्याजदर घटेसँगै आगामी दिनमा बैंकहरूको आधार दर कम भई ऋणको ब्याजदर समेत सस्तो हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here