काठमाडौं । सेना दिवसको अवसरमा जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ सञ्चालन सुरू भएको छ। आजदेखि सुरु भएको प्रदर्शनी माघ ७ गतेसम्म जारी रहने छ।
प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, ऐतिहासिक हातहतियार, उपकरण र नेपाली सेनाले निर्वाह गर्दै आएका विभिन्न भूमिकाहरूको सम्बन्धमा प्रदर्शनी गरएिको छ।
यसका साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधिहरूको प्रदर्शनी रहेको छ।
आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई माघ ४ गते बिहान ११:३० बजेदेखि बेलुका ५ बजेसम्म र माघ ५ गतेदेखि ७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जङ्गी अड्डाको पश्चिम तर्फको गेटबाट निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
यस प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल हुने विश्वास नेपाली सेनाले लिएको छ।


















