काठमाडौँ । एमालेले पार्टीमै नभएका व्यक्तिलाई उम्मेदवार बनाएको पाइएको छ । एमालेको सचिवालय बैठकले सप्तरी-२ बाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका जनमत पार्टीका सांसद सतिश सिंहलाई उम्मेदवार बनाएको पाइएको हो ।
एमालेले फागुन-२१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सप्तरी-२ बाट सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, सिंहले भने आफू स्वाभिमान पार्टीबाट चुनाव लड्ने बताएका छन् । उनले आफू एमाले प्रवेश नगरेको स्पष्ट पार्दै आउँदो चुनावमा स्वाभिमान पार्टीबाट चुनाव लड्ने प्रष्ट पारेका छन् । उनले माघ ६ गते स्वाभिमान पार्टीबाट उम्मेदवारको मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
यता एमालेले भने सिंहसँग वार्ता भएर उम्मेदवार बनाएको दाबी गरेको छ । एमालेका एक नेताका अनुसार सिंहलाई उम्मेदवार बनाएर पार्टी प्रवेश गराउने तयारी गरिएको थियो । सिंहले भने एमाले प्रवेशका विषयमा नभएर समर्थन गर्ने विषयमा छलफल भएको बताएका छन् ।


















