आयोगले अनुसन्धान गरेर कारबाही गर्ने चेतावनी

15

काठमाडाैं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि उजुरीका आधारमा वा आयोगले आफैँ अनुसन्धान गरेर कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले केन्द्रदेखि निर्वाचन क्षेत्रस्तरसम्म आफ्ना अनुगमन संयन्त्रहरूलाई सक्रिय बनाइसकेको छ। मंगलबार भएको उम्मेदवारी मनोनयनका क्रममा कतिपय स्थानमा आचारसंहिता विपरीतका कार्यहरू भएको र ती सबै आयोगको निगरानीमा रहेको उनले स्पष्ट पारे।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ। आयोगका अनुसार प्रत्यक्षतर्फ कुल ३ हजार ४ सय ८६ जनाले मनोनयन दर्ता गराएका छन्। जसमा ३ हजार ८९ पुरुष, ३ सय ९६ महिला र १ जना अन्य समूहका उम्मेदवार रहेका छन्। राजनीतिक दल र उम्मेदवारहरूले देखाएको संयमताका कारण मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आयोगले तोकिएकै समयमा निर्वाचन हुनेमा विश्वास व्यक्त गरेको छ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ। प्राप्त उजुरीहरूमाथि छानबिन गरी उम्मेदवारको योग्यता परीक्षण गरिने र अयोग्य ठहरिएकाहरूको नाम सूचीबाट हटाइने आयोगले जनाएको छ।

उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह सार्वजनिक गरी मतपत्र छपाइको प्रक्रिया अघि बढाइनेछ।

प्रचारप्रसारका सम्बन्धमा आयोगले फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्मका लागि औपचारिक समय तोकेको छ। हालको अवधिमा उम्मेदवारहरूले मतदातासँग घरदैलो र भेटघाट गर्न पाउने भए तापनि जुलुस, र्‍याली र आमसभा जस्ता ठूला कार्यक्रम गर्न आचारसंहिताले निषेध गरेको छ। फागुन १८ गते रातिदेखि मौन अवधि सुरु हुनेछ भने फागुन २१ गते देशभर १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० सिटमा समानुपातिकतर्फ मतदान हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here