काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महेन्द्र पाण्डेले पार्टीले टिकट वितरणलाई पैसा असुल्ने माध्यम बनाएको बताएका छन् । उनले पार्टीले पैसा हुनेलाई मात्रै टिकट वितरण गरेको भन्दै रास्वपा हुँदा खानेको नभएर हुनेखानेको पार्टी भएको बताए ।
शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै आफूलाई रास्वपा छोडेको घोषणा गर्दै अब स्वतन्त्र समूह बनाएर अगाडि बढ्ने बताए । उनले सभापति रबि लामिछानेको रिहाईको लागि एक्लैपनि सडकमा आवाज उठाउँदै आएको तर चुनावमा पैसावाललाई प्राथमिकता दिएको बताए ।
इमान्दार नेता कार्यकर्ताको भविश्य नभएको बताउँदै पाण्डेले भने, ‘रास्वपामा इमान्दार नेता कार्यकर्ताको भविश्य छैन, अब स्वतन्त्र अभियान चलाउँछौं ।’ उनले बुर्लाकोटी, शंकर श्रेष्ठजस्ता व्यक्तिका कारण रास्वपाको भविष्य राम्रो नभएको समेत दाबी गरे ।
पण्डेले आफूहरुले केही दिनभित्रै भेला गरेर चुनावमा कसलाई सहयोग भन्ने निर्णय गर्ने बताए । उनले हर्क साम्पाङ, कुलमान घिसिङ वा अन्य परिवर्तनकारी शक्तिलाई सहयोग गर्ने भन्ने केही दिनमा निर्णय गर्ने बताए ।
पार्टी सभापति लामिछानेलाई स्वार्थी र गलत नियत भएका व्यक्तिहरुले घेराबन्दी गरिसकेको बताउँदै पाण्डेले त्यस्ता व्यक्तिहरुलाई कारवाही नगरेसम्म रास्वपामा फर्किन नसक्ने स्पष्ट पारे । उनले कर्णालीमात्र नभएर देशभरका इमान्दार कार्यकर्ता रास्वपा छोड्ने तयारीमा रहेको समेत बताए ।
बुर्लाकोटी जस्ता ‘पापी’ हरुले पूर्वदेखि पश्चिमसम्मका इमान्दार कार्यकर्ताको मन छियाछिया बनाएको पाण्डेले दाबी गरे । उनले बुर्लाकोटीजस्ता कार्यकर्ताको पसिनामाथि खेलबाड गर्नेलाई गाउँगाउँबाट लखेट्न पाण्डेले आग्रह समेत गरे । हुम्ला स्थायी घर भएका पाण्डे कर्णालीमा रास्वपाको स्थापनाकालदेखि नै सक्रिय छन् ।


















