काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको जनाइएको छ ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।
बारामती आसपास विमान अवतरण गर्ने प्रयासकै क्रममा दुर्घटना भएको जनाइएको छ । यो क्र्यास ल्यान्डिङ थियो वा प्राविधिक खराबीका कारण दुर्घटना भयो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा र उद्धार टोली खटिएका छन् । स्थानीय प्रशासन, एम्बुलेन्स तथा मेडिकल टोली घटनास्थलतर्फ परिचालित गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


















