रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत विच्छेद भएको प्रहरीले जनाएको छ ।
रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले सडक खुलाउनका लागि भूमे गाउँपालिकाको केन्द्रबाट जेसिबी (डोजर) पठाइएको जानकारी दिइन् । ‘सडक खुलाउने प्रयास भइरहेको छ तर वर्षा नरोकिएकाले काम सुरु गर्न कठिन भएको छ’, प्रजिअ परियारले भनिन्, ‘वर्षा रोकिने बित्तिकै हिउँ पन्छाएर यातायात सुचारु गरिनेछ ।’


















