काठमाडाैं । स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गरेकी छन् ।
उनले भने, “राज्यप्रति नागरिकको भरोसा कायम गर्न तत्काल आवश्यक सुधार गरेर अस्पतालाई रकम भुक्तानी सुचारु गर्न अनुरोध गर्दछु ।”
सांसद किरणबाबु श्रेष्ठले नेपाल अन्तरराष्ट्रिय निकाय (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको १ वर्ष बितिसक्दा पनि एफएटिएफले नेपाललाई सुधार गर्नुपर्ने भनी औँल्याएका विषयहरू कार्यान्वयन गर्न प्रयास अपर्याप्त देखिएको भन्दै यसबारे जानकारी गराउन अनुरोध गरिन् ।
सांसद पदमबहादुर परियारले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा ३० जनाभन्दा बढी सङ्घीय तथा प्रदेशसभाका सांसद एवम् स्थानीय तहका प्रमुखहरूले आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै राजीनामा दिएर निर्वाचनमा होमिनेहरूले जनतासामु गरेका वाचा र शपथ बिर्सिएको आरोप लगाए । उनले संसदीय अभ्यासलाई मर्यादित बनाउन संविधान र अरु निर्वाचनको कानुन संशोधन गर्न माग गरे।
सांसद रुक्मिणी कोइरालाले महिला हिंसा केवल कानुनी मुद्दा मात्र नभई गम्भीर सामाजिक अपराध भएको बताउँदै पीडित महिलाहरूका लागि बनेका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् ।
यसैगरी सांसद विष्णुदेवी पुडासैनी अघिल्लो सरकारले छुट्याएको योजनाहरू र छनोट गरेका बजेट आजसम्म पनि नभएको भन्दै असारे विकासले गर्दा जनतालाई सास्ती हुने र बजेट पनि नोक्सान हुने जनाइन् ।


















