काठमाडौं । आसिफ शेखको आक्रामक ब्याटिङमा क्यानडालाई हराउँदै नेपालले विश्वकपको अघि अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार चेन्नईमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले नेपाललाई १६२ रनको टार्गेट दिएको थियो । जवाफी ब्याटिङमा १२ बल बाँकी छँदै नेपालले ४ विकेटको क्षतिमा टार्गेट पूरा गरेको हो ।
नेपालका लागि आसिफ शेखले २९ बलमा ६ चौका र ३ छक्कासहित ५८ रन बनाए । त्यस्तै सन्दीप जोराले ४ चौका र १ छक्काको मद्दतमा ३० बलमा ४४ रन बनाए । गुलशन झाले नटआउट ३१ रन बनाए । क्यानडाका लागि जसकरण सिंह, साद बिन जफर र अजयवीर हुन्दालले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङमा उत्रिएको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले ४१ रन बनाए । त्यस्तै श्रेयस मोवाले ३८ रन बनाउँदा जसकरण सिंहले २१ रन बनाए ।


















