डेल स्टेनले नेपाललाई आवश्यक परेको खण्डमा सहयोग गर्ने

12
काठमाडाैं । दक्षिण अफ्रिकाका सर्वकालीन महान् तीव्र गतिका बलर डेल स्टेनले नेपाललाई आवश्यक परेको खण्डमा सहयोग गर्न आफू सधैँ तयार रहेको जनाएका छन्।
आइतबार आईसीसी टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध नेपालले देखाएको साहसी र प्रभावशाली प्रदर्शनपछि स्टेनले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
मुम्बईको वानखेडे स्टेडियममा भएको उक्त खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्दै १८० रन बनाएको थियो। नेपाल ५ रनले पराजित भए पनि विश्व क्रिकेटमा आफू प्रतिस्पर्धी टोली भएको सन्देश दिन सफल भयो। यही प्रदर्शनले विश्व क्रिकेट समुदायको ध्यान नेपालतर्फ तानेको हो।
नेपालको खेलप्रति प्रभावित हुँदै डेल स्टेनले एक्समा लेखेका छन्, “नेपाल, कुनै पनि बेला आवश्यक परेमा म सहयोग गर्न तयार छु।” उनको यो अभिव्यक्तिलाई नेपाली क्रिकेटप्रेमी र खेलकुद विश्लेषकहरूले सकारात्मक रूपमा लिएका छन्। विश्व क्रिकेटका दिग्गज खेलाडीबाट आएको यस्तो समर्थनले नेपाली क्रिकेटको भविष्यप्रति थप आशा जगाएको छ।
नेपालको युवा टोलीले विश्वकप जस्तो ठूलो मञ्चमा अनुभवी टोली इंग्ल्याण्डसँग अन्तिम क्षणसम्म प्रतिस्पर्धा गर्नु आफैंमा ऐतिहासिक उपलब्धि मानिएको छ। डेल स्टेनजस्ता विश्वप्रसिद्ध बलरको समर्थनले नेपाली क्रिकेटको विकास, प्रशिक्षण र अन्तर्राष्ट्रिय पहिचानमा थप ऊर्जा थपिने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here